27/07/2026
चलचित्र ‘परान’को प्रदर्शनसँगै भावुक बने दर्शक, ‘१२ महिना १२ चलचित्र’ भव्य सुरुवात ।
काठमाडौं । नेपाल फिल्म सोसाइटी र अभियानको संयुक्त आयोजनामा सुरु भएको “१२ महिना, १२ चलचित्र” नेपाली चलचित्र महोत्सव अन्तर्गत पहिलो प्रदर्शनीको रूपमा चर्चित नेपाली चलचित्र ‘परान’ जय नेपाल सिनेमामा प्रदर्शन गरिएको छ। कार्यक्रममा चलचित्र क्षेत्रका विशिष्ट व्यक्तित्व, कलाकार, साहित्यकार, समीक्षक, सञ्चारकर्मी तथा चलचित्रप्रेमी दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा वरिष्ठ चलचित्र समीक्षक प्रकाश सायमी, साहित्यकार राजेन्द्र सलभ, चर्चित विकास बोर्डका अध्यक्ष दिनेश डिसी, कलाकार दीपकराज गिरी, वरिष्ठ अभिनेता धिरेन शाक्य लगायत चलचित्र, कला, साहित्य तथा सामाजिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता रहेको थियो। साथै नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्ल,चलचित्र बिकाश बोर्ड अध्यक्ष दिनेश डि.सी. ,लगायत चलचित्र सङ सम्बन्धित संघ सस्थाहरुका अध्यक्षहरुले संयुक्त रुपमा उदघाटन गरिएको सो कार्यक्रममा हरेक उमेरका दर्शकहरुको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले नेपाली चलचित्र केवल मनोरञ्जनको माध्यम मात्र नभई नेपाली समाज, संस्कृति, भाषा र पहिचानको महत्वपूर्ण दस्तावेज भएको उल्लेख गर्दै यसको संरक्षण र प्रवर्द्धनमा सबै पक्षको साझा भूमिका आवश्यक रहेको बताए।
चलचित्र ‘परान’ प्रमुख पात्र नीर शाह ज्यु ले चलचित्रले समाज, परिवार र मानवीय सम्बन्धका संवेदनशील पक्षलाई प्रस्तुत गरेको बताउँदै नयाँ पुस्ताले यस्ता कथामार्फत धेरै कुरा सिक्न सक्ने धारणा व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “नेपाली चलचित्र क्षेत्रलाई अझ बलियो बनाउन कलाकार, निर्माता, निर्देशक र दर्शक सबै एकजुट हुनुपर्छ। दर्शकको साथ र विश्वास नै नेपाली चलचित्र उद्योगको सबैभन्दा ठूलो शक्ति हो।”
दर्शकहरूसँगै हलमा बसेर चलचित्र हेर्नुभएका अभिनेता तथा सोसाइटीका अध्यक्ष कृष्ण मल्ल चलचित्रको अन्त्यतिर निकै भावुक देखिनुभयो। चलचित्र हेर्दै गर्दा धेरै दर्शकका आँखा रसाएका थिए भने यी हरफका पङ्तिकार स्वयं म Roshan Kumar लाई पनि अबिस्मरणिय याद बनाईदियो । दर्शकहरूले चलचित्रको कथा, अभिनय र प्रस्तुतिलाई हृदयस्पर्शी रहेको प्रतिक्रिया दिएका थिए।
कार्यक्रममा उपस्थित धेरै दर्शकहरूले ‘परान’ ले परिवार, सम्बन्ध, त्याग, प्रेम र जीवनका यथार्थ पक्षहरूलाई अत्यन्त मार्मिक ढंगले प्रस्तुत गरेको बताएका थिए। चलचित्र समाप्तिपछि आयोजित अन्तरक्रियामा दर्शकहरूले नेपाली चलचित्रप्रतिको आफ्नो माया व्यक्त गर्दै यस्ता चलचित्रले नेपाली समाजका वास्तविक कथा उजागर गर्ने धारणा राखे।
यसैबीच नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्ल ले नेपाली चलचित्रको संरक्षण, प्रवर्द्धन र दर्शकमाझ पहुँच विस्तार गर्ने उद्देश्यले सुरु गरिएको “१२ महिना, १२ चलचित्र” अभियानलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने बताउनुभयो। उहाँले भन्नुभयो, “नेपाल फिल्म सोसाइटी र अभियानबीचको सहकार्यले नेपाली चलचित्रलाई नयाँ ऊर्जा दिनेछ। हरेक महिना एक उत्कृष्ट नेपाली चलचित्र प्रदर्शन गर्दै दर्शक र चलचित्रकर्मीबीचको सम्बन्धलाई अझ मजबुत बनाउने हाम्रो लक्ष्य हो।”
उहाँले नेपाली चलचित्र क्षेत्रको विकासका लागि कलाकार, निर्माता, निर्देशक, पत्रकार र दर्शक सबैको संयुक्त प्रयास आवश्यक रहेको उल्लेख गर्दै नेपाली चलचित्रलाई आफ्नै उद्योगका रूपमा सम्मान र समर्थन गर्न आग्रह गर्नुभयो।
“नेपाली चलचित्र, हाम्रो पहिचान, हाम्रो शान” भन्ने मूल नारासहित सुरु भएको यो अभियानले आगामी १२ महिनासम्म हरेक महिनामा एक नेपाली चलचित्र प्रदर्शन गर्नेछ। कार्यक्रमले नेपाली चलचित्र संस्कृतिको विकास, चलचित्रसम्बन्धी बहस, समीक्षा तथा नयाँ पुस्तामा नेपाली चलचित्रप्रतिको आकर्षण बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।
दर्शकहरूको उत्साह, चलचित्रकर्मीहरूको सक्रिय सहभागिता तथा चलचित्र ‘परान’ ले सिर्जना गरेको भावनात्मक माहोलले महोत्सवको पहिलो कदम अत्यन्त सफल र स्मरणीय बनाएको सहभागीहरूले बताएका छन्।
– Routine Of Nepali Film Industry
काठमाडौं