26/09/2026
यंकिदह ( इन्द्रदह )
काठमाडौको चन्द्रागिरि नगरपालिका दहचोक स्थित यंकिदह एक प्राचीन तथा महत्वपूर्ण धार्मिक स्थल हो। दहचोक वा इन्द्रदहको नामले प्रसिद्ध रहेको यस ठाउँ ऐतिहासिक हुनुका साथै यहाँबाट काठमाडौ उपत्यकाको मनोरम दृश्य देखिने भएकोले बर्ष भरी नै मानिसहरु आउजाउ गरिरहन्छन्। समुद्री सतहबाट करिब १६०० मिटरको उचाइमा रहेको यस स्थानमा विशेष गरि इन्द्रजात्राको समयमा मेला लाग्ने गर्दछ।
यस स्थानको बारेमा विभिन्न किंवदन्तीहरु रहेको पाइन्छ। यसै मध्ये एक प्रचलित किंवदन्ती अनुसार एकपल्ट आफ्नो आमाको व्रतको लागि इन्द्र पृथ्वीमा पारिजातको फूल खोज्न आए। यसै क्रममा उनी विष्णुमती तीर्थको दर्शन गरि साधारण मानिसको भेषमा वरिपरि घुम्न थाले र उनले नजिकै रहेको एउटा बारीमा पारिजातको रुख देखे। उनले रुखबाट फूल टिप्दै गर्दा मालीले देखेर उनलाई चोर भनी बाँधेर ल्याए र सबैले देख्न पर्छ भनी बस्तीको बीचमा खाँबोमा दुबै हात फैलाएर बाँधिदिए। यता स्वर्गमा इन्द्र फर्केर नआएपछी उनका वहान एरावत हात्ती पनि उपत्यकामा आए र पागल जस्तै यता उति दौडिदै खोज्न थाले। बस्ती बीचमा यसरी हात्ती दौडेपछी स्थानियहरु सबै मिलि नियन्त्रणमा लिएर हात्तीलाई पनि एक ठाउँमा बाँधिदिए। स्वर्गमा राजा र वहान दुबै नभएपछी खैलाबैला मच्चिन थाल्यो र अन्तत: इन्द्रकी आमा आफैं उपत्यकामा आए। उनले आफ्नो छोरा र हात्ती बाँधेर राखेको देखेर राजा समक्ष गइ, छुट्याइदिन आग्रह गरे। त्यसपछी त्यहाँ ठूलो भेला गरियो र यस बीछ इन्द्रकी आमाले सबै कुराको बिस्तार लगाए। मानिसको रुपमा आएकी इन्द्रकी आमाको कुरा सुरुमा कसैले पत्याएनन् तर जब उनी आफ्नो वास्तविक रुपमा आए, तब सबैले क्षमा याचना गरे। यसपछी यहाँको बासिन्दाले हामीले मागेको कुरा पूरा गरेमा मात्र छोडिदिने र गल्तिको सजाय सबैलाई बराबर हुनपर्ने माग राखे। यस पछि यहाँको बासिन्दाले इन्द्रलाई, उपत्यकामा अन्नबालीको उब्जनी राम्रो होस, वर्षभरीलाई पुग्ने गरि अन्न फलोस भनी मागे। इन्द्रले, त्यसो भए म तिमीहरुको सहरमा अरु ठाउँमा भन्दा चाडै कुहिरो लाग्ने बनाइदिन्छु र धान अन्नबाली सप्रिएर चाडै फलोस भनी वरदान दिए। यसपछी उनीहरुले इन्द्रकी आमालाई, तपाईंले पनि हामीलाई वरदान दिन पर्छ, हाम्रो वर्षभरी मृत्यु भएका पितृहरुलाई स्वर्गमा स्थान दिनपर्छ भनी वरदान मागे। इन्द्रकि आमाले म वर्षमा एकपल्ट तिमीहरु कहाँ आउनेछु, र त्यति बेला जो जो मसँगै आफ्नो पितृहरुको लागि तर्पन गर्न आउँदछ म उनीहरुको पितृ र दिवंगत भएकाहरुलाई आफुसँगै स्वर्ग लानेछु भनी वचन दिए। यसै पछि सबैले इन्द्रलाई बोकी सहर घुमाइ हर्षोल्लासका साथ जात्रा गरे। यसरी जात्रा गरिसकेपछी इन्द्र र उनकी आमाले यंकिदह रहेको स्थानबाट सबै पितृहरुलाई स्वर्गमा लिएर गएको कथा रहेको छ।
यसै दह रहेको स्थानबाट नै पितृहरुको उद्धार गरि लगेको हुनाले यस दहलाई यंकु थाय् दुगु दह अर्थात् लगेको स्थानमा रहेको दह भनिएको र कालान्तरमा यंकिदह भनिएको मानिन्छ।
हालपनी इन्द्रजात्राको एक दिन अगाडि वा इन्द्रजात्राको दिन बिहान सो वर्ष मृत्यु भएको घरबाट यंकिदहमा जाने प्रचलन रहि आएको छ। यसैगरी, इन्द्रजात्राको दिनमा साँझ `कोने या ´ भनेर प्रत्यक्ष देवी कुमारी तथा गणेश र भैरवको रथ जात्रा गरिसकेर बसन्तपुर पुर्याइसकेपछी बहुमत: भनी बाँसमा कलात्मक रुपमा दियोबत्ती बालेर नगर परिक्रमा गराइन्छ। यसलाई इन्द्रकी आमाले आफ्नो छोरा खोज्नलाई बालेको बत्तीको प्रतीक मानिन्छ भने पितृको उद्धार गर्न बलेको स्वर्गदिप पनि भनिन्छ। यसै बहुमत: सँगै दागीँ पनि निकालिन्छ जसलाई इन्द्रकी आमा मानिन्छ। सेतो मुकुट, सेतो जामा लगाएको दागीँलाई दायाँबायाँ दुइजनाले समातेर नगर परिक्रमा गराइन्छ भने, दागीँको पछाडि, सो वर्ष आफ्नो आमा वा बुबाको मृत्यु भइ बर्खी बसेका जेठो छोरा ( जुठो परेर लगाइने सेतो लुगा) धान, गहुँ, जौ आदि सतबीज छर्दै नगर परिक्रमा गर्ने गर्दछन्। यसरी दागीँसँगै सतबीज छरेर नगर परिक्रमा गरेमा उनले आफ्नो दिवंगत पितृहरुको उद्धार गरि स्वर्ग लाने जनविश्वास रहेको छ।