14/03/2016
बालबालिका लागिको रङ्गमञ्च
रङ्गमञ्च कर्ममा १० वर्ष पार गरिसकेको शिल्पी आफ्ना योजनाहरूमा व्यस्त छ । यसको आफ्नै नाटकघर ‘गोठाले नाटकघर’ बनेको पनि २ वर्ष पूरा भइसकेको छ, जहाँ नियमित नाटक उत्पादन, मञ्चन, प्रकाशन गरिन्छ । रङ्गमञ्चबाहेक ललित कलाका विभिन्न विधाहरू कविता, संगीत, चित्रकलाका पनि कार्यक्रम आयोजना भइरहेका छन् । रङ्गमञ्चमा लामो अनुभवपछि हामीलाई लाग्यो बालबालिकाको सिर्जनशीलता तथा चेतना विकासका लागि यो मुलुकमा निक्कै काम हुन आवश्यक छ । तर खासै भएको छैन । हामी रङ्गमञ्चको माध्यमबाट थोरै भए पनि योगदान गर्न चाहन्छौँ । त्यसैले यो नाटकघरको कल्पना गरेका हौँ ।
केही युवा रङ्गकर्मीहरूमिलेर बनेको नाट्य संस्था हो शिल्पी । हामी यतिखेर बालबालिकाको लागि नाटकघर बनाउन चाहन्छौँ, जहाँ बालबालिकाको लागि नाटक देखाउन सकियोस् । कहिलेकाहीँ स्वतन्त्र लोक कथा, विज्ञान कथा वा उनीहरूकै पाठ्यक्रमममा आधारित नाटक बनाएर हामी बालबालिकासँग सिर्जनात्मक संवाद गर्न चाहन्छौँ । यो नाटकघरमा बालबालिकाको लागि कविता, चित्रकला र गीत संगीतका कार्यशालाहरू पनि हुनेछन् ।
काठमाडौका अभिभावकहरूलार्ई स्कुल विदाको बेलामा आफ्ना बाबुनानीहरूलाई कहाँ लाने भन्ने तनाव छ । काठमाडौमा एउटा चिडियाघरबाहेक बालबालिकाहरू रमाउने खासै ठाउँ छैनन् । शिल्पीले अब बनाउने नाटकघर एउटा विकल्प होस् भन्ने हाम्रो चाहना हो ।
बत्तीसपुतलीस्थित लिजमा लिएको जग्गामा बन्ने यो नाटकघरको लागत करिब १५ लाख हुनेछ । तपाईंको सानो सहयोगले हाम्रो सपना साकार हुनेछ ।
30×20 फिट यस हलमा ५० जना दर्शक अट्नेछन् ।