13/06/2026
अभिनेत्री लुनिभा तुलाधरले आफ्नो छोराको स्वास्थ्य अवस्था र समाजले हेर्ने दृष्टिकोणबारे एक भावुक अनुभव साझा गरेकी छिन्। हालैको एक कार्यक्रममा बोल्दै उनले आफ्नो छोरामा अटिजम र 'एडीएचडी' (ADHD) रहेको र यो यात्रामा उनले भोगेका सामाजिक चुनौतीहरूबारे खुलेर चर्चा गरेकी हुन्।
लुनिभाका अनुसार छोरा जन्मिएको ५ महिनामै उनले बच्चामा केही भिन्नता महसुस गरेकी थिइन्। उनले भनिन्, "मेरो छोराले धेरै हात हल्लाउने गर्थ्यो। मेरा फुपाजु डा. अनिल तुलाधरले उसमा अटिजमको लक्षण रहेको बताउनुभएको थियो। धेरैले ढिलो थाहा पाउँछन्, तर मैले त ५ महिनामै मेरो बच्चा अरूभन्दा फरक छ भन्ने बुझिसकेकी थिएँ।"
नेपाली समाजमा अटिजमबारे अझै पनि चेतनाको ठूलो अभाव रहेको लुनिभाको अनुभव छ। आफ्नै परिवारभित्रका अग्रजहरूले पनि यसलाई फरक ढंगले हेर्ने गरेको उनले सुनाइन्। "मेरै हजुरबुवाले पनि 'तेरो बच्चा पागल हो?' भनेर सोध्नुहुन्थ्यो। समाजमा अझै पनि अटिजमलाई पागलपनका रूपमा बुझ्ने गरिन्छ, जुन एकदमै गलत हो," उनले भनिन्।
उनले सुरुका दिनमा आफूलाई थाइराइड भएको र ढिलो उमेरमा बच्चा जन्माएका कारण यस्तो भएको हो कि भनेर आफैँलाई दोषी समेत मानेको बताइन्।
अटिजम भएका बालबालिकाहरूमा विशेष क्षमता हुने कुरा उल्लेख गर्दै लुनिभाले आफ्नो छोरा गणितमा निकै प्रतिभाशाली रहेको बताइन्। "उ म्याथ्समा टप छ। उसलाई लेख्नमा समस्या भए पनि मौखिक रूपमा परीक्षा लिने हो भने उसले सजिलै एसईई उत्तीर्ण गर्न सक्छ। तर विडम्बना, हाम्रो देशको शिक्षा प्रणालीमा अझै पनि यस्ता बालबालिकाका लागि छुट्टै व्यवस्था छैन।"
अटिजम भएका बालबालिकाहरूलाई विद्यालयमा 'अल्छी' वा 'नसुन्ने' भन्दै कुटपिट गरिने गरेकोमा उनले चिन्ता व्यक्त गरिन्। "गाउँघरमा त अवस्था अझै भयावह छ। विद्यालयमा शिक्षकहरूले बच्चाको अवस्था नबुझी सजाय दिन्छन्। सरकारले अटिजम स्कुल खोल्ने कुरा त गरेको छ, तर त्यसको सही कार्यान्वयन र बुझाइ आवश्यक छ," उनले थपिन्।
उनका अनुसार उनको छोराले हाल ADHD को औषधी समेत खाइरहेका छन्, जसले उसको 'हाइपर-एक्टिभिटी'लाई नियन्त्रण गर्न मद्दत गर्छ।
लुनिभाले आफ्ना फुपाजु र बहिनीको उदाहरण दिँदै अटिजम भएका व्यक्तिहरू पनि सफल डाक्टर र बोर्ड फर्स्ट हुन सक्ने कुरामा जोड दिइन्। उनले अभिभावकहरूलाई आफ्नो बच्चाको अवस्था नलुकाउन र उनीहरूको विशेष क्षमतालाई पहिचान गरी उचित तालिम र वातावरण दिन आग्रह गरेकी छिन्।