16/08/2026
अन्तर्राष्ट्रिय युवा दिवस–२०८३ को अवसरमा जीवन विज्ञान प्रतिष्ठान युवा वृत्तद्वारा आयोजित ‘Wellness for Youth’ सप्ताहव्यापी कार्यक्रमअन्तर्गत पाँचौँ दिन २०८३ साउन २८ गते युवा सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनमा श्रद्धेय रमेश गुरुदेव र भानु गुरुदेवले युवालाई दिनुभएको सन्देशका मुख्य अंश:
रमेश गुरुदेवका सन्देश
ध्यान केवल एकाग्र हुने अभ्यास होइन, सम्पूर्ण जीवनलाई नयाँ ढंगले बाँच्ने कला हो ।
प्राथमिक तहदेखि नै ध्यानको अभ्यास सुरु गर्न आवश्यक छ, विशेषगरी किशोरावस्थामा तनाव बढ्दै जाने भएकाले ।
जीवनमा आउने असल–नराम्रो, माया–गाली र सुख–दुःखलाई सम्हाल्न सक्ने क्षमता नै ध्यान हो ।
ध्यानको अभ्यासले रिसजस्ता भावनालाई व्यवस्थित गर्न र मनलाई सन्तुलित बनाउन सहयोग गर्छ ।
साँचो ध्यानपछि मन शान्त र स्थिर हुनुपर्छ; ध्यानपछि पनि मन अशान्त छ भने अभ्यासको गहिराइमा जान आवश्यक छ ।
नियमित ध्यानले मन शान्त बनाउने, आनन्द बढाउने र एकाग्रता क्षमता विकास गर्ने अनुभव हुन्छ ।
दुःखी वा अशान्त मन लिएर ध्यानमा बस्नुभन्दा पहिले आफूलाई ध्यानका लागि तयार पार्न आवश्यक छ ।
भानु गुरुदेवका सन्देश
संसारमा बढिरहेको तनाव, अशान्ति र डिप्रेसनको समाधान केवल शक्ति, प्रविधि वा प्रसिद्धिमा होइन; नेपालसँग रहेको योग, ध्यान र आरोग्य ज्ञानमा पनि छ ।
‘नेपालमा सम्भावना छैन’ भन्ने सोच त्यागेर युवाले आफ्नै बुद्धि, खोज र अनुभवबाट नयाँ कथा लेख्नुपर्छ ।
हजारौँ वर्षदेखि ध्यान, योग र सांस्कृतिक अभ्यास गर्दै आएको नेपालसँग विश्वलाई दिन सक्ने मौलिक ज्ञान र सम्भावना छ ।
आजको पुस्तासँग एआई र सामाजिक सञ्जालजस्ता प्रविधि छन्। यिनको सदुपयोग गर्दै नेपालको योग, ध्यान र आरोग्य ज्ञान विश्वभर पुर्याउन सकिन्छ ।
प्रविधिको उपयोग गरौँ, तर गैजेटको लतमा नफसौँ ।
संसारका असल कुरा उपभोग गर्ने मात्र होइन, आफूभित्रको ज्ञान र क्षमता संसारलाई दिने उपयोगी व्यक्ति बनौँ ।
‘योगी बन्नुभन्दा पहिले उपयोगी बनौँ ।’
आफ्नो लक्ष्यअनुसार प्राथमिकता निर्धारण गरी योजना बनाएर अघि बढौँ। महत्त्वपूर्ण काममा ऊर्जा र समय केन्द्रित गरौँ।
ध्यान, व्यायाम, प्राणायाम र नृत्यपछि प्राप्त हुने आन्तरिक शान्तिबाट सही अन्तरप्रेरणा जन्मिन्छ । बाहिरी अपेक्षाभन्दा भित्री प्रेरणाबाट जीवन जिऔँ ।
जीवनको अर्थ अरूले बताइदिने होइन, आफ्नै खोज र अनुभवबाट पहिचान गर्नुपर्छ ।
डर, तनाव र चिन्ताबाट मुक्त हुन दैनिक जीवनमा व्यायाम, प्राणायाम र ध्यानलाई नियमित बनाऔँ ।
पुराना बानी दोहोर्याएर नयाँ परिणाम खोज्न सकिँदैन; नयाँ परिणामका लागि नयाँ अभ्यास र नयाँ दृष्टिकोण आवश्यक हुन्छ ।
विगतका दुःख, आघात र पीडामा अल्झिएर नबसौँ । त्यसलाई शक्तिमा रूपान्तरण गर्दै नयाँ जीवन निर्माण गरौँ ।
सम्मेलनमा विभिन्न क्षेत्रका युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो भने सहभागीहरूले श्रद्धेय भानु गुरुदेवसँग प्रश्नोत्तर गर्दै आफ्ना जिज्ञासा र अनुभवहरू साझा गरेका थिए ।