11/08/2024
अहिले आचार्य कृष्ण दमाईकाे चर्चा छ, तर नुवाकोटको देविघाटका बलराम दमाई (छिमेकमा बहुदल साईलाकाे नामले चिनिने) (हाल स्वर्गिय) काे १५ बर्ष अघि गोरखापत्र दैनिकमा २०६६ मंसिर १९ गते छापिएको "न्युज" यस्तो रहेछ ।
कपडा सिलाइ र पुराण वाचन एकैसाथ
कपिलदेव खनाल/नुवाकोट
देवीघाट, मङ्सिर १८ गते। मुख्य पेसा 'विष्टहरूका कपडा सिलाउने' रहेको यहाँका बलराम नेपालीको फुर्सदको काम उपल्लो जातले गर्ने भनिएको पुराण वाचन हो।
महाभारत, रामायण, देवीभागवतलगायतका धार्मिक तथा बौराणिक ग्रन्थ ब्राह्मण जातिले मात्र वाचन गर्नुपर्छ "अब पर्दैन, नेपालीको भनाइ हो यो।
नुवाकोटको सदरमुकाम बिदुरदेखि सात किलोमिटर पश्चिम देवीघाटमा रहेको सुकुमवासी बस्तीमा १५ वर्षदेखि पुराण वाचन गर्दै आइरहनुभएका ७० वर्षीय बलराम नेपाली (दमाई) ले परम्परागत मान्यता तोड्नुभएको छ र जातीय आन्दोलनमा लागेकाहरूलाई राम्रो पाठ सिकाउनुभएको छ।
छिमेकमा बहुदल साइँलाको नामले चिनिने बलराम नेपालीको दिनचर्या बिहान पुराण वाचनबाट सुरु भएर र दिउँसो पाँच परिवारको छाक टार्न ज्यालामा कपडा सिउनमा बित्छ। १ कक्षामात्र अध्ययन गर्नुभएका बलरामलाई पुराण वाचन गर्न कसैको सहारा आवश्यक पर्दैन। बुद्यौलीमा आँखाको ज्योतिले पनि साथ दिएको उहाँको पुराण वाचनको शैली र शुद्धता पढेलेखेका पण्डितको भन्दा कमजोर छैन।
१५ वर्षको अवधिमा उहाँले कतिपटक पुराण दोहोऱ्याउनुभयो, उहाँ आफैलाई थाहा छैन। दैनिक एक अध्याय पुराण वाचन गदां आफ्नै जातिका व्यक्तिले "बाहुनले पढ्ने पुस्तक पढ्ने हो ?" भन्दै गिज्याउने र गाली गर्दासमेत उहाँले आफ्नो कर्म छाड्नुभएको छैन। "आत्मा र ज्ञान सबैका लागि समान भएकाले 'कथित' ठूला जातिले गर्ने काम हामीले किन गर्न हुँदैन भन्ने लागेपछि पुराण अध्ययन गर्न थालें", बलराम भन्नुहुन्छ ।
देशमा बहस चलिरहेको दलित आन्दोलनको बारेमा उहाँको असहमति रहेको छ। उपल्लो जातिको थिचोमिचोमा परेको र आफूहरूले समानता खोजिरहेको बताउने दलितहरू आफैले आफूलाई दलित बनाएको भनाइ उहाँको रहेको छ। "मन्दिरमा हामीले पनि पूजा गर्न जान पाउनुपर्छ भन्छौं । तर जादैनौं', नेपाली भन्नुहुन्छ, "जातीय आधारमा छुवाछूत गर्नु अपराध हो भन्छौं, अनि फेरि कुनै होटलमा चिया खान बस्यौं भने पनि अलग्गै बस्छौं ।"
आफ्नो अधिकारका लागि दलितहरू अगाडि नसरेको भनाइ उहाँको छ। "त्यसैविरुद्धको चेतना बाँड्न पनि पुराण वाचन गरिरहेको छु', उहाँ भन्नुहुन्छ। तर, पुराण, बंदलगायतका धार्मिक ग्रन्थमा के छ र दलितहरूलाई पढ्न र छुन बन्देज लगाइयो भन्ने खुल्दुलीले उहाँलाई यहाँसम्म ल्याइपुऱ्याएको हो।
जिल्ला सदरमुकाममा दलित र भेदभावका विषयमा चर्काचर्का भाषणबाजी हुने गरेको छ तर यस्ता खालका सिर्जनात्मक काममा कुनै पनि व्यक्ति वा पक्षको ध्यान गएको छैन। कतिसम्म भने दलितको हकअधिकारका लागि लड्दै आइरहेको बताउने नेपाल दलित उत्थान समाज भने बलराम नेपालीको यस नमुना कार्यबाट बेखबर छ।
सुकुमबासीको बाहुल्य रहेको यहाँको दलित बस्तीमा उहाँको पुराण वाचनलाई अहिले सबैले मन पराएका छन्। नेपालीको वाचन सुन्न बस्तीका मुस्लिम, सार्की, कुमाल, राईलगायतका जातिको भीड लाग्ने गरेको छ।
२०४६ सालअघि पञ्चायतविरोधी अभियानमा सक्रिय रहेका, बलरामलाई गाउँमा सबैले बहुदल नेपाली भनेर चिन्छन् । "व्यवस्थाविरोधी हुँदा सामाजिक कुप्रथा, अन्धविश्वास र रूढिवादी परम्पराको डटेर विरोध गर्ने उहाँको बानी थियो" नेपालीको पहिलेको बानी सुनाउनुभयो नुवाकोट आदर्श बहुमुखी क्याम्पसका उपप्राध्यापक ठाकुर पुडासैनीले । पैतृक सम्पत्ति नहुँदा बसाइँसराइका क्रममा थान्सिङ, खड्गभञ्ज्याङ हुँदै २३ वर्षदेखि देवीघाटको सुकुमबासी बस्तीको कुटुरोमा बस्दै आउनुभएका बलरामलाई पुराण वाचनले समाजमा 'दलित ब्राह्मण'को समेत पहिचान दिलाएको छ।
Kapil Dev Khanal