15/10/2026
सरकारी गाडी र पीएसओबिना म्याग्दी पुगे मन्त्री महावीर पुन, मुनामा भव्य स्वागत
म्याग्दी । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन आफ्नो गृहजिल्ला म्याग्दीको बाढीपहिरो प्रभावित क्षेत्रको अवस्था बुझ्न पुगेका छन्। उनलाई धवलागिरि गाउँपालिकाको केन्द्र मुनामा स्थानीयवासीले स्वागत गरेका छन्।
मन्त्री पुन सरकारी गाडी र व्यक्तिगत सुरक्षा अधिकारी (पीएसओ) बिना नै भाडाको जिप चढेर जिल्लाको भ्रमणमा निस्किएका हुन्। भ्रमणका क्रममा उनले बाढीपहिरोबाट प्रभावित क्षेत्रको स्थलगत अवस्था अवलोकन गर्नुका साथै पीडित नागरिकको समस्या बुझ्ने र स्थानीय जनप्रतिनिधि तथा सरोकारवालासँग छलफल गर्ने कार्यक्रम छ।
गत असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षाले म्याग्दीका विभिन्न स्थानमा बाढीपहिरो निम्त्याउँदा जनधन र भौतिक संरचनामा क्षति पुगेको थियो। प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिँदै पुनर्निर्माण तथा पुनःस्थापनाका आवश्यकताबारे बुझ्न मन्त्री पुन जिल्लामा पुगेका हुन्।
साधारण नागरिकसरह भाडाको सवारीसाधन प्रयोग गरेर आफ्नो निर्वाचन क्षेत्रको भ्रमणमा निस्किएका मन्त्री पुनको मुनामा स्वागत गरिएको भिडियो सार्वजनिक भएको छ।
भिडियो : तेजिन्द्र मगर / हरिकृष्ण गौतम